महेश सिंह लहान सिरहा — सिरहाको भारतसँग जोडिएको ठाडी छोटी भन्सार नाकाबाट तस्करी गतिविधि अझै नियन्त्रणमा आउन नसकेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सीमा क्षेत्रमा सुरक्षा जिम्मेवारीमा रहेका निकायले प्रभावकारी निगरानी गर्न नसकेको आरोप लगाउँदै निष्पक्ष छानबिन र कडा नियन्त्रणको माग गरेका छन्।
स्थानीयवासी सकलदेव राम र बुधबाका अनुसार सीमा नाकाबाट लामो समयदेखि विभिन्न सामानको अवैध ओसारपसार हुने गरेको छ। उनीहरूका अनुसार तस्करी संगठित रूपमा हुने गरेको देखिए पनि सम्बन्धित निकायबाट प्रभावकारी नियन्त्रण हुन नसकेको उनीहरूको गुनासो छ।
केही स्थानीय तथा व्यापारीहरूले सीमा क्षेत्रमा खटिएका सुरक्षा निकायका केही व्यक्तिको मिलेमतोमा तस्करी हुने गरेको आरोप लगाएका छन्। साथै, केही सादा पोसाकका व्यक्तिमार्फत व्यापारीसँग रकम असुली हुने गरेको दाबी पनि उनीहरूले गरेका छन्। यद्यपि, यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।
स्थानीयवासीहरूले सीमा क्षेत्रमा हुने गतिविधिबारे निष्पक्ष छानबिन गर्न, दोषी देखिए कानुनी कारबाही गर्न तथा तस्करी नियन्त्रणका लागि प्रभावकारी अनुगमन व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार जुनसुकै सरकार आए पनि ठाडी–लौकाहा सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्नु राज्यका लागि चुनौती बन्दै आएको छ।







