महेश सिंह लहान सिरहा – धान खेतीको मुख्य समयमा सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा रासायनिक मलको अभाव भएपछि किसानहरू समस्यामा परेका छन्। गाउँपालिका–४ सहित पालिकाका विभिन्न वडाका किसानहरूले आफूहरूलाई आवश्यक समयमा मल उपलब्ध नभएको भन्दै गुनासो गरेका छन्।
स्थानीय किसान भरत साहका अनुसार आफू लगायत सयौं किसानले पटक–पटक खाद डिलरको सम्पर्क गर्दा पनि आवश्यक मल प्राप्त गर्न नसकेको बताए। समयमा मल नपाउँदा धान रोपाइँ तथा बाली व्यवस्थापन प्रभावित भएको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
किसानहरूले गाउँपालिकाभित्र उपलब्ध मलको वितरण प्रक्रियामा पारदर्शिता नभएको र कालोबजारी भइरहेको आशंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार डिलरमा मल आएको भनिए पनि अधिकांश किसानले सहज रूपमा मल पाउन सकेका छैनन्।
गाउँपालिका–४ का वडा अध्यक्ष रमेश गोइतले किसानको समस्यालाई गम्भीर रूपमा लिँदै समयमा मल उपलब्ध गराउन सम्बन्धित निकायलाई सूचना जारी गरिसकेको जानकारी दिए। उनले किसानलाई सहज रूपमा मल वितरण सुनिश्चित गर्न आवश्यक पहल भइरहेको बताए। साथै, कालोबजारी रोक्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए।
यता गाउँपालिकाका कृषि शाखा प्रमुख हरि यादवले आवश्यक मल डिलरहरूसम्म पठाइसकिएको दाबी गर्दै वितरणको जिम्मेवारी सम्बन्धित डिलरकै रहेको बताए।
तर गाउँपालिकाका आईटी शाखाबाट उपलब्ध मलको विवरण तथा वितरण सम्बन्धी सूचना गाउँपालिकाको आधिकारिक सामाजिक सञ्जाल वा वेबसाइटमा सार्वजनिक नगरिएको भन्दै किसानहरूले असन्तुष्टि जनाएका छन्। सार्वजनिक जानकारी नदिइनुले वितरण प्रक्रियामाथि शंका उत्पन्न भएको र कालोबजारीलाई प्रश्रय मिल्न सक्ने उनीहरूको आरोप छ।
किसानहरूले मलको वास्तविक मौज्दात, वितरण विवरण सार्वजनिक गर्दै निष्पक्ष वितरणको व्यवस्था गर्न तथा कालोबजारीमा संलग्नमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।







