महेश सिंह सिरहा लहान — सिरहामा समाचार संकलनका क्रममा पत्रकारमाथि भएका दुई छुट्टाछुट्टै दुर्व्यवहार तथा आक्रमणका घटनामा संलग्न व्यक्तिविरुद्ध हालसम्म प्रभावकारी कानुनी कारबाही अघि नबढेपछि प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
न्यूज २४ टेलिभिजनका संवाददाता दिलीप सहनीमाथि इलाका प्रहरी कार्यालय गोलबजारमा समाचार संकलनका क्रममा प्रहरी कर्मचारीबाट दुर्व्यवहार भएको तथा रेडियो धनुषाधामका संवाददाता गोविन्द यादवमाथि कर्जन्हा नगरपालिका–७ मा वडाध्यक्षका छोराले आक्रमण गरेको घटनापछि पत्रकार समुदायले दोषीमाथि तत्काल कारबाहीको माग गर्दै आएका छन्। तर घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको भनिए पनि कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि नबढेको भन्दै असन्तुष्टि बढ्दै गएको छ।
यही विषयलाई लिएर नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले असार १६ गते विज्ञप्ति जारी गर्दै पत्रकारमाथि हुने आक्रमण र दुर्व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ। महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा यस्ता गतिविधिले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष प्रहार गर्ने उल्लेख गरिएको छ।
महासंघले पत्रकारले निर्भीक वातावरणमा समाचार संकलन गर्न पाउने संवैधानिक अधिकारको संरक्षण गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गर्दै घटनामा संलग्न सबैलाई निष्पक्ष अनुसन्धानमार्फत कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै यस्ता घटना दोहोरिन नदिन पत्रकारको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएको छ।
यसअघि नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र नेपाल पत्रकार महासंघ सिरहा शाखाले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै दोषीलाई उन्मुक्ति नदिन र पीडित पत्रकारलाई न्याय दिलाउन माग गरेका थिए।
महासंघले पत्रकारमाथि हुने आक्रमणका घटनामा राज्य संयन्त्रले समयमै प्रभावकारी कदम चाल्न नसके प्रेस स्वतन्त्रता कमजोर हुने, सञ्चार क्षेत्र त्रसित बन्ने र लोकतान्त्रिक प्रणालीमाथि नै नकारात्मक प्रभाव पर्ने चेतावनी दिएको छ।

