महेश सिंह सप्तरी – स्थानीय महिला तथा युवतीहरूलाई सीपयुक्त, स्वरोजगारमुखी तथा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न भएको छ।
श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को आयोजनामा सुरुङ्गा नगरपालिका–२, भेडिया बजारमा जेठ २२ गतेदेखि सञ्चालन भएको तालिम जेठ २८ गते सम्पन्न भएको हो। “सिप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नारासहित सञ्चालन गरिएको तालिममा सहभागीहरूलाई विभिन्न प्रकारका आकर्षक गुडिया निर्माणसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो।
संस्थाकी रन्जु काफ्ले ले तालिम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै यस्ता सिपमूलक कार्यक्रमले महिलाहरूको क्षमता अभिवृद्धि गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बन्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले सिकेको सीपलाई व्यवहारमा उतार्दै आयआर्जनसँग जोड्न सहभागीहरूलाई आग्रह गरिन्।
तालिममा सहभागीहरूले गुडिया निर्माणका विभिन्न प्रविधि सिकेका छन्। प्राप्त सीपका आधारमा घरेलु उद्योग सञ्चालन गरी आम्दानीको स्रोत सिर्जना गर्न सकिने विश्वास व्यक्त गरिएको छ।
आयोजक संस्थाले यस्ता कार्यक्रमले महिला सशक्तीकरण, उद्यमशीलता विकास तथा स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने जनाएको छ। साथै आगामी दिनमा पनि समुदाय लक्षित विभिन्न सिप विकास तथा आयमूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।

